January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

भगवती पाण्डेलाई कारवाहीको माग तथा प्रहरी दमनविरुद्ध बृहत् प्रदर्शन

2.1K

यदि हामी साँच्चै उठेका हौं भने यो लडाइँ यतिमा सिमित हुनुहुँदैन: आहुति

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएकी भगवती पाण्डेलाई कार्वाही गर्नुपर्ने मागसहित सोमबार काठमाडौंको माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समिति र नेपाल तामाङ घेदुङ संघीय समितिको समन्वयमा शान्तीपूर्ण बिरोध प्रदर्शनमा भएको हो ।

तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानून बमोजिम हदैसम्मको सजाय दिनुपर्ने, शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिइसकेपछि चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक दान बहादुर कार्कीसहित संलग्न सबै प्रहरीलाई कार्वाही गर्नुपर्ने र प्रहरीको चरम यातना तथा कुटपिटबाट घाइते भएका अभियन्ताहरूको उपचार खर्चसहित उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित हजारौंको संख्यामा उपस्थित भई बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले नारा लगाउदै बानेश्वर पुगेर कोणसभा गरेका थिए । उक्त कोणसभालाई सम्बोधन बोल्दै बैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष तथा विश्लेषक विश्वभक्त दुलाल ‘आहुती’ ले यो लडाइँ भगवती पाण्डेको कारबाहीमा सिनित हुन नहुने बताए । ‘यदि हामी साँच्चै उठेका हौं भने यो लडाइँ यतिमा सिमित हुनुहुँदैन । यो राज्यव्यवस्थासँग हामीले हाम्रो अंश माग्नुपर्छ । अधिकार माग्नुपर्ने हुन्छ।’, उनले भने । उनले कसैको संस्कृति र परम्परालाई अपमान गर्न नहुने, सम्मान गर्नुपर्ने पनि बताए ।

Advertisement

यस्तै, कोणसभालाई सम्बोधन गर्दै किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले तामाङ र मगरलाई दुख्दा लिम्बुवान र किरातलाई पनि दुखेको बताए ।अध्यक्ष येक्तेनले भने, ‘हिजो टेकुमा ५० जनालाई कुट्दा डराउछ भन्ने सरकारलाई यो च्यालेन्ज गर्न चाहन्छौं कि ५० औं हजार तपाइँको जेल भत्काउन आउँदैछौं । आदिवासीहरू दुईदिन उफ्रिन्छन् अनि सुत्छन् भन्ने भ्रम छरिएको छ, हामी सुत्दैनौं । शितल पाण्डेको घर र इतिहास खोज्दैछौं । उसलाई संरक्षण गर्ने प्रहरी खोज्दैछौं ।’

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बौद्धिक व्यक्तित्वहरूले बोलेका थिए भने कवि तथा पत्रकार राजु स्याङ्तानले कविता वाचन गरेका थिए ।

यसै बीचमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गर्ने तथा गिरफ्तार गरि यातना दिने प्रहरीलाई छानवीन गरी कारबाही गर्ने बताएका छन्। आजै नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरु लगायतले संयुक्त रुपमा गृहमन्त्री श्रेष्ठलाई भेट गरी उक्त घट्नाको जानकारी गराई ध्यानाकर्षण गराउने क्रममा उनले यस्तो आश्वासन दिएका हुन् ।

भेटवार्ताको क्रममा गृहमन्त्री श्रेष्ठले आदिवासी जनजातिहरुको आफ्नो जायज माग लिएर भएको शान्तिपूर्ण प्रदर्शन भएको घटनामा दु:ख व्यक्त गर्दै हिरासत भित्र प्रदर्शनकारीहरुलाई यातना दिने प्रहरी र विवादास्पद अभिव्यक्ति दिने पाण्डेको छानवीन गरी आवश्यक कारबाही गर्ने र सम्पूर्ण घाइतेहरुको उपचार राज्यले गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।