काठमाडौँ । तामाङ र मगरलगायतका जाति, समुदायको संस्कारलाई लिएर विवादास्पद अभिव्यक्ति दिने कानुन व्यावसायी भगवती पाण्डे (शीतल)लाई पक्राउ गर्न अदालतले आदेश जारी गरेपछि पनि प्रहरी प्रशासनले पक्राउ नगरेपछि पक्राउ गरियोस् भनी माग राख्नेलाई यातना दिएको प्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ध्यानाकर्षण भएको जनाएका छन् ।
साउन १७ गते जिल्ला प्रहरी परिसर टेकू, काठमाडौँ घेराउ कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य दिलमाया मोक्तान (नेरुता) लगायत ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी चरम यातना दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको डा. भट्टराईले विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएका हुन् ।
“शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ ।” विज्ञप्तिमा उल्लेख छ ।
डा. भट्टराईले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको माग पनि गरेका छन् । पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहाइको माग गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानवीन गरी दोषीलाई कारबाही गर्न माग पनि भट्टराईले गरेका छन्