काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णय सार्वजनिक गरेकी छन् । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच शर्माले निर्णय सार्वजनिक गरेकी हुन् ।
पाँचवटा अर्थ मन्त्रालयसम्बन्धीसहित विभिन्न १६ बुँदामा निर्णय सार्वजनिक गरिएको छ । निर्णयअनुसार सरकारले फास्ट ट्रयाकसम्बन्धी खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद्कै बैठकले शंकर प्रसाद अधिकारीको संयोजकत्वमा बनेको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ ।
यस्तै खाद्य तथा पोषण सुधार कार्यकक्रम दोस्रोका लागि करिब २ अर्ब ६२ करोड रुपैयाँ अनुदान प्राप्त गर्न अन्तिम रुप दिनका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ ।