काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने प्रस्ताव राखेका छन् । मंगलबारबाट हुने बैठकका एजेन्डामाथि छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको अनौपचारिक बैठकमा देउवाले अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण पस्कँदै बैठक लाइभ गर्ने प्रस्ताव ल्याएका हुन् ।
सभापति देउवाको प्रस्तावमा महामन्त्री विश्वप्रकाश शर्माले लाइभ गर्दा सकारात्मक सन्देश नै जाने धारणा राखेका थिए भने महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतको असहमति जनाएका थिए ।
अनौपचारिक बैठकमा सभापतिबाट आएको प्रस्ताव विचाराधीनमै रहेको हुँदा यस विषयमा व्यावहारिक पक्ष हेरेर मंगलबार मात्रै औपचारिक निर्णय गरिने बताइएको छ ।
तर, पदाधिकारी र पूर्वपदाधिकारीबीच मत बाझिए पनि देउवाको निर्देशनअनुसार पार्टीको केन्द्रीय कार्यालयका कर्मचारीले फेसबुक ‘लाइभ’ का लागि क्यामरालगायतको प्राविधिक प्रबन्ध गरिसकेका छन् ।