June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

संघीय संसदका दुवै सदनको बैठक आज, अवरोधको अडान कायमै

1.4K

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बोलाइएको छ।

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी आज सोमबार अपरान्ह तीन बजेसम्मलाई स्थगित भएको थियो । एमालेको अवरोधले राष्ट्रिय सभा बैठक विहान ११ बजेर १ मिनेटसम्मका लागि स्थगित भएको थियो ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए।

Advertisement

प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सुत्रिए मागसहित बैठक अवरोध गरिरहेको छ।

बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको थियो।

एमालेको अडान कायमै
आजको बैठक चल्न नदिने एमालेले अडान कायमै राखेको छ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर सचिवालयले जारी गरेको विज्ञप्ति र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत सार्वजनिक गरेको विषयलाई लिएर प्रश्न उठाएपछि सहमति भाँडिएको सरकार पक्षको भनाइ छ।

सिंहदरबारमा तीन दलबीच भएको सहमति सत्तारुढ दलभित्रकै बेमेलका कारण तोडिएको एमालेको दाबी छ।

कार्यसूचिमा विधेयक र केही मन्त्रालयको बजेटमाथि छलफल रहेको
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने लगायत सम्भावित कार्यसूची रहेको छ।

यस्तै राष्ट्रियसभामा आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय माथीको बजेट माथि छलफल हुनेछ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाइएको बजेट माथी पनि छलफल हुनेछ।