काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठकले विपक्षी दलले भने जस्तो राजनीनामा दिनुनपर्ने निर्णय गरेको छ ।
वैठकपश्चात नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने, “प्रतिपक्ष दलले माग गरे जस्तो प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरेका छौं ।”
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए । सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए ।
त्यसलाई लिएर नेकपा (एमाले) सहित विपक्षी दलले विरोध गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरेका छन् । विपक्षी दलको विरोधका कारण संसद् बैठक अवरुद्ध भएका छन् ।
गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने निर्णय र संसद् फेस गर्ने निर्णय गरेको छ ।