September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव हो: प्रधानमन्त्री प्रचण्ड

540

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् । इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको बताएका हुन्। 

विहीबार शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य हो। विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरवसमेत हो। बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्। यस्ता विविधतायुक्त विषेशता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले साँस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएका छन्।’

प्रधानमन्त्री प्रचण्डले यस्ता पर्वले नेपालीहरूमा आपसी मित्रतालाई थप सुदृढ गर्ने पनि बताए । ‘सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु।’, शुभकामना सन्देशमा भनिएको छ ।

Advertisement