काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदमा गरेका संकल्पहरू पूरा हुँदै गएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ‘सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ’ भनी गरेको संकल्प अहिले पूरा हुँदै गएको बताएका हुन् ।
बैठलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले संसदमा संकल्प गरेको थिएँ, सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ । यसबीचको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु । मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, अहिले त्यसमा सुधार भएको छ, यसलई उपलब्धिको रुपमा मानेको छु ।’
यस्तै, ‘हाइप्रोफाइल’हरू कानूनभन्दा माथि छन् भन्ने मनोबिज्ञान पनि भत्किदै गएको उनले बताए । ‘हाइप्रोफाइलहरू कानूनभन्दा माथि छन् भन्ने मनोबिज्ञान बनिरहेको थियो। त्यसले जनतामा आक्रोश जन्माइरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । नक्कली भुटानी सरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाही पछि जनतामा विश्वास जाग्न सुरु भएको छ । नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानूनको सर्वोच्चता मात्र प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ । लोकतन्त्रभित्र देखा पर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने ऐतिहासिक मापदण्ड स्थापित भएको छ।, प्रधानमन्त्री प्रचण्डले भने ।
नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरणको पनि सुरु भएको उनले बताए ।’संसद र आम जनसमुदायलाई म यही रोस्टमबाट विश्वास दिलाउन चाहन्छु, यो शुद्धीकरण यत्तिमा रोकिने छैन । यो निरन्तर अगाडि बड्नेछ ।’, उनले भने ।
यस लडाइँमा उनले सदन र जनता दुवै तर्फबाट हौसला र सहयोगको अपेक्षा रहेको बताए ।’हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ । बर्षौंदेखि बिकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा सदन र जनताबाट अझ ठूलो हौसला र सहयोगको अपेक्षा म गर्दछु ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले २० वर्षअघि र आज जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको बताए। ज्ञान र विवेकभन्दा निन्दाबाजी र आवेग त हावी हुँदै गएको छैन? भन्दै प्रश्न गर्दै भने,‘जनताका वास्तविक मुद्दा हराउँदै गएर सतही, सस्ता बजारु विषयले प्राथमिकता पाएर जनतामा असन्तुष्टि फैलाउने काम त हामीले गरिरहेका छैनौं? कतै हाम्रै व्यवहारले राजनीतिक चरित्र र चेहरा त कमजोर बनिरहेको छैन?,’ उनले प्रश्न गर्दै भने।
उनले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने सत्य भएको पनि बताए। यसलाई तथ्यात्मक आधार चाहिने उनको निचोड थियो।
‘मतदाताकोरूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ। जसले युद्धको विभीषिका देख्नु परेन, विद्यालय जान पैदल हिँड्नु परेन, यो पुस्ताले कुनै दिन देशमा इन्टरनेट, टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म रोकेर चलाइएको शाही शासन देखेन। सञ्चारगृहमै पसेर बर्दीधारीहरूले सम्पादहरूलाई के छाप्ने, के देखाउने के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास पनि आजको सामाजिक सञ्जालमा उन्मुक्त पुस्तालाई थाहा छैन आज त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो भन्नेजस्तो भाष्य बनाएर लोकतन्त्रबाट दिग्भ्रमित पार्ने अधिकार हामी कसैलाई पनि छैन,’ उनले भने।
प्रतिनिधि सभामा आज बजेट पारित गर्ने कार्यसूची रहेको छ।