काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन ५ वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित एक कार्यक्रममा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग भएको कुराकानीका आधारमा गठबन्धन ५ वर्षसम्म टिक्केमा आफू विश्वस्त रहेको उनले बताए । उनले भने, ‘अहिले कताकता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला ! लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’
१८ औं शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उदेश्यमा अगाडि बढ भनेको स्मरण गर्दै उनले दुनियाँले के भन्छ त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको बताए । उनले भने, ‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन् । राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु ।
जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनको भनाइ छ ।
यस्तै, भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखिनसहने नकारात्मक प्रवृति भएकाहरूले आफ्नो विरोध गरेको बताए ।
आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘१० वर्षमा १० हजार मेगावाट विजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ ।