April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

‘अखण्ड भारत’को विषयलाई सांस्कृतिक रुपमामात्रै बुझ्न भारतको आग्रह

1.2K

काठमाडौं । छिमेकी मुलुक भारतको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार भारत पुगेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भारतको नव निर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणको पहिलो दिन बुधबार आफूलाई भेट्न आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनीलगायतका क्षेत्र समेत समेटिएकोबारे प्राथमिकता दिदैँ चासो राखेको जनाइएको छ ।

डोभाल र विदेश सचिव क्वात्रासँगको अनौपचारिक कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नक्साबारे चासो व्यक्त गर्दा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नभई सांस्कृतिक रूपमा मात्रै बुझ्न आग्रह गरेको बताइएको छ । भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नबुझ्न नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएको हुँदा यसलाई साँस्कृतिक रुपमा मात्रै बुझ्न अनुरोध गरिएको जनाइएको छ ।

Advertisement

त्यसपछि प्रधानमन्त्री प्रचण्डले भारतले राखेको नक्सापछि नेपालको संसद्मा पनि ग्रेटर नेपालको नक्सा राख्ने चर्चा सुरु भएको बताएका थिए । त्यसपछि दुई पक्षबीच दुई देशबीचको सम्वबन्धका अन्य आयामबारे समेत कुराकानी भएको थियो ।

नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भारतको हैदरावाद हाउसमा भेटवार्ता हुँदै छ । हैदरावाद हाउसमा बिहान ११ बजे हुने द्विपक्षीय भेटवार्तामा केही विकास आयोजनासम्बन्धी समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका तय गरिएको छ ।