काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयबाट हटाएको भनी गलत प्रचार भएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
डा. सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयबाट हटाइएको सत्य भएको र पाठ्यक्रम विकास केन्द्रले २०७९ वैशाखदेखि कक्षा ५, ८ र १० को पाठ्यक्रम परिमार्जन गर्ने निर्णयसहित प्रक्रिया सुरु गरी २०७९ फागुनमै सबै प्रक्रिया पूरा गरी परिमार्जित किताब छपाइका लागि प्रेसमा पठाएको पनि मन्त्रालयको प्रेसनोटमा जनाइएको छ ।
पाठ्यक्रम परिमार्जनका क्रममा विश्वप्रख्यात नेत्ररोग विशेषज्ञ डा. रुइतको जीवनी हटाइएकोमा मन्त्रालयले पनि दुःख व्यक्त गरेको छ । तर रुइतको जीवनी कक्षा १० को नेपालीबाट हटाइए पनि सोही कक्षाको सामाजिक अध्ययन र विज्ञान तथा प्रविधि विषयमा फरक तरिकाले समेटिएको जानकारी प्रेसनोटमा दिइएको छ ।
परिमार्जित पाठ्यक्रमको कक्षा ७ को अंग्रेजी र कक्षा ८ को नेपाली विषयमा पनि रुइतको जीवनी राखिएको छ ।
“जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका माननीय अशोक कुमार राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै भएको निर्णयलाई अहिले आएर जानाजान उहाँले नै डा. रुइतको जीवनी हटाएको भन्ने पूर्वाग्रही किसिमबाट गरिएका गलत प्रचार र भ्रममा नपर्न हामी सबैमा हार्दिक अनुरोध गर्न चाहन्छौँ । बरु, माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले हाल डा. सन्दुक रुइतले स्थापना गर्नुभएको तिलगङ्गा आँखा अस्पताललाई छुट्टै विश्वविद्यालयको रुपमा विकास गर्न सम्बन्धन दिने निर्णय गरिसक्नुभएको र सोका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी गराउन चाहन्छौँ ।” प्रेसनोटमा लेखिएको छ ।