February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

सरकारको ‘नीति तथा कार्यक्रम’ मनचिन्ते झोली जस्तै, जे खोज्यो तेइ पाइने तर केही नभेटिने: गोकुल बाँस्कोटा

1.1K

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताए। मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

नीति कार्यक्रममाथिको छलफलको क्रममा सापकोटाले विपक्षी दलका नेता ओलीले हेडमास्टरी शैलीमा पढाएको बताएका थिए। जवाफमा बास्कोटाले भने, ‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं। नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी हो, प्रोफेसर डाक्टर हो।’

यस्तै उनले ओली अहिलेको परिवर्तनको इन्जिनियर, आर्किटेक भएको बताए। ‘उहाँ सबै हो, तपाईंहरूले कम्तीमा सिक्न पाउनुभएको छ। म बधाई भन्न चाहन्छु,’ उनले टिप्पणी गरे।

Advertisement

बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रम मनचिन्ते झोली जस्तो भएको पनि बताए । ‘तपाइँहरूको अर्थमन्त्रीले पेश गरेका कुराहरू, भोलिपर्सीतिर आउने आर्थिक सूचकहरू, गतसाल तपाइँहरूले यसै गरेका पेश गर्नुभएका यस्तै नीति र कार्यक्रमहरूको लेखाजोखाभित्र प्राप्त भएका उपलब्धिहरूको कसीमा यो कार्यक्रम आएको छ र ?, उनले प्रश्न गरे, ‘के यहाँ सत्ता पक्ष मात्रै छ ? यो त काँग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको राजनीतिको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको मान्छेले हात्तिको कान छामेजस्तो मनचिन्ते झोलीजस्तो, जे खोज्यो तेइ पाउने खासमा केही पनि नभेटिने अमुर्तै-अमुर्त भएको दस्तावेज लिएर आनुभएको छ अनि उल्टै अर्कालाई धारे हात लाउनुपर्छ ?’

उनले ब्याजदर, कृषि र उत्पादन, वितरण लगायत विभिन्न क्षेत्रमा देखिएका समस्याका कुराहरू यश कार्यक्रममा नभएको बताए । परिणाम शून्य भएको भन्दै उनले कवि मनु मन्जिलको ‘दुश्मन’ कविताको एक अंश संसदमा सुनाएपछि भने, ‘अहिले त्यही गर्न खोज्या हो?’