काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भ्रष्टाचार भएका सबै विवादित काण्डहरूको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा ओलीले ‘भष्ट्राचारीमाथि छानबिन गरी कारबाही गरिनेछ’ भन्ने कुराको कटाक्ष गर्दै विवादिन सबै काण्डहरुको छानबिन गर्न चुनौती दिएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा टिप्पणी गर्दै उनले भने– ‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर बालुवाटारको ललिता निवास काण्ड, मातातीर्थको जग्गा काण्ड, सर्दु जलाधार क्षेत्रको सट्टाभर्ना काण्ड, धोवीखोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइड बडी काण्ड, क्यान्टोनमेन्ट काण्ड लगायतका विषयहरूमा जो विवादित छन्, अनुसन्धान र मुद्दा दायर गर्ने कार्य यथाशीघ्र गरिनेछ भन्न यो सरकारलाई कसले रोक्यो ? किन नगर्ने हो ?’
ओलीले सरकारले भ्रष्टाचार, अनियमितता छानबिनमा इच्छा शक्ति नदेखाएको आरोप लगाए । ‘एकपल्ट इच्छाशसक्ति देखाऊँ, भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछन् भन्ने विश्वास नेपाली जनतामा स्थापित गरौं । तर, यो सरकारले कहाँसम्म भने, प्रस्तावित नीतिका १८८ बुँदामा सरकारी जग्गा अतिक्रमण गर्नेमाथि छानिबन गर्ने विषय समावेश गर्नसम्म सकेको छैन ।’
उनले सरकारले सरकारी जग्गा अतिक्रमणकारी उपरको अनुसन्धान मुद्दा दायर गर्ने कानुनलाई रोक्न चाहेको पनि आरोप लगाउदै कतै प्रधानमन्त्री प्रचण्डले यसैका लागि गठबन्धन फेरेको त होइन ? भनेर प्रश्न पनि गरे ।
यस्तै, ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन् । उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस् । छानबिन गरियोस् । म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं ।’
यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको ओलीे बताए । ‘एमालेलाई गाली गर्न मन लागेको छ । केपी ओलीलाई गाली गर्न रहर लागेको छ । रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी । पार लाग्दैन’, उनले भने ।
आफू भ्रष्टाचारविरूद्ध सधैँ छानबिन होस् भन्ने पक्षमा रहेको भन्दै ओलीले भने, ‘निर्दोष फसाउन प्रयास भइरहेको छ । म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ । चानचुने कुरा हो ? त्यसकारण यो भोलि पनि निस्कन्छ । निर्दोष नफसोस् ।
तीनवटा प्रमुख पार्टीका नेताहरू भेट्दा कतिपयलाई सन्देह उत्पन्न भएको पनि ओलीले बताए । उनको प्रश्न थियो, ‘तीन नेता भेट्दा, संसद् बैठक, मन्त्रिपरिषद् पटकपटक बस्दा सन्देह पैदा भयो ! के भनेको यो ? संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ, सदन कसरी चलाउने ? सहमतीय बाटोमा कसरी जाने ? आदि कुरामा नेताहरू छलफल गर्दैनन् ? कानून निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन् ?’
तीन जना नेता भेट्दा पनि मानिलिऊँ दुईजना दूधले नुहाएकामात्र होइन, दुधै कुण्डमा नुहाएका, मचाहिँ त्यहाँ लौन मेरा नेता बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएँ,’ उनले भने, ‘बाघ भोकै मर्छ तर घाँस नखाने खाँदैन ।’




