February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताउदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बस्दा यो अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर शंका गर्ने गरिएको छ, म विश्वास दिलाउन चाहन्छु, हामी सदनलाई कसरी सुचारु गर्ने भनेर बसेका हौँ । साथै देशमा एकथरी मानिसहरु नेपाली जनताले झन्डै ७ दशकभन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ । त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भनेर बसेका हौँ ।’

पुँजीबजारसम्बन्धीका सेटिङहरू पनि भत्काएको प्रधानमन्त्री प्रचण्डले बताए । सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको उनको भनाइ छ । उनले सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको समेत बताए । ‘पुँजीबजार सम्बन्धी त्यहाँ हुने सबै सेटिङहरुलाई हामीले भत्काएका छौँ । राजश्व वृद्धि गर्न त्यसलाई अलि सुदृढ गर्न कडा कदम चाल्नेतिर अघि बढेका छौँ । रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौँ,’ उनले भने ।

Advertisement