February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्छ: गगन थापा

1.3K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् । नेपाल वितरक संघको ११औँ वार्षिक साधारणसभालाई शनिबार धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा देशको आर्थिकभार कम गर्न सुविधा कटौती गर्नुपर्ने बताएका हुन् ।

थापाले विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने बताएका हुन् । ‘म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ ।’, थापाले भने ।

आर्थिक व्यवस्थापन सहज बनाउन सुविधा कटौती गर्नुपर्ने उनको भनाइ थियो । ‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठ्यारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौं भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, उनले भने ।

Advertisement

आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

थापाले मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री बताए ।