काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासको मोडेल परिवर्तन गुर्नुपर्ने बताएका छन् । बुधबार कान्तिपुर मिडिया ग्रुपद्धारा आयोजजित ‘कान्तिपुर इकोनमिक समिट–२०२३’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हालसम्म अपनाइँदै आएको विकास मोडेलमा व्यापक परिमार्जनको खाँचो रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिकपूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । तर, उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति बिल्कुल उत्साहजनक छैन । संविधानले समाजवाद उन्मुख आर्थिक प्रणालीको विकास गर्ने संकल्प गरेतापनि हाम्रा हालसम्मका नीति तथा कार्यक्रम त्यसतर्फ लक्षित हुन सकेका छैनन् ।’
गाउँमा विकासका पूर्वाधार पु¥याइएको तर बसाइसराई र वैदेशिक रोजगारीका कारण त्यसको उपयोग हुन नसकेको बताए । संविधानले परिकल्पना गरेकोजस्तो समाजवाद उन्मुक आर्थिक प्रणाली उल्लेख गरिए पनि नीति तथा कार्यक्रम त्यसअनुसार हुन नसकेको उनको भनाइ थियो । उनले भने, ‘यातायात, ऊर्जा र संचारजस्ता पूर्वाधारको व्यवस्थाबाट विकासको ढोका खुल्ने, त्यस्ता सुविधा पुगेका ठाउँमा उद्योग खुल्ने कृषिको आधुनिकीकरण हुने र त्यसबाट समग्र उत्पादन र रोजगारी बढ्ने विश्वास गरिन्छ । विश्वास गरिएको पनि थियो तर हामीले त्यस्ता पूर्वाधार पु¥याएका गाउँहरू बसाइसराईका कारण रित्तिँदै गएको । पहिले खेती गरिने जमिन बाँझो बन्दै जान थालेको र ठूलो संख्यामा युवाहरू विदेशिने क्रम कायमै छ । यस्तो अवस्थामा परिवर्तन ल्याउन सामान्य सुधारात्तमक नीति योजना र कार्यक्रमबाट मैले सम्भव देखेको छैन । त्यसका लागि हाम्रो विकास मोडेलकै बारेमा नयाँ ढंगले विचार गर्नुपर्ने र त्यमास एउटा मेरो भाषामा क्रमभंग गर्नुपर्ने महसुस हुन्छ ।’ प्रधानमन्त्री दाहालले आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यस्ता कार्यक्रम आउने संकेत गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री दाहालले मुलुलकलाई आर्थिक संकटबाट बाहिर निकाल्न सरकार र यसका अन्य निकायबीच समन्वय भइरहेको बताए । ‘मैले राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालय र निजी क्षेत्रसँग लगातार नै अन्तरक्रिया गरिरहेको छु । आर्थिक संकटको यो परिस्थतितिमा मिलेर जानुपर्छ भन्ने कुरामा हामी बसैको साझा संकल्प देखिएको छ । यो हामी सबैको निम्ती खुसीको कुरा हो ।’, उनले भने ।