काठमाडौं । पहिचान प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद पदम लिम्बू लाजेहाङको आज शव अन्त्येष्टि गरिने भएको छ । आन्दोलनको क्रममा घाइते भई गत चैत ९ गते निधन भएको लाजेहाङको एक महिनापछि आज अन्त्येष्टि गरिन लागिएको हो ।
जसपाका युवा नेता सागर सरगम चेम्जोङका अनुसार लाजेहाङको शवयात्रा सुरु हुन लागेको छ । शवलाई सुनसरीको धरान, इटहरी, हुँदै मोरङको विराटनगरसम्म पुर्याइ पुनः विराटचोक हुँदै उर्लाबारीसम्म यात्रा गराइने छ । मंगलबार बसेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) को बैठकले लाजेहाङको शवलाई धरानमा श्रद्धाञ्जली अर्पण गरेर यात्राको सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्ने र १२ः३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा राख्ने, प्रदेश सभा परिक्रमा गराउँदै २ः३० बजे सहिद लाजेहाङको घरबेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज लाजेहाङको शव यात्रा हुनेछ ।
नेपाल सरकारले लाजेहाङलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेपछि समितिको मंगलबार बसेको भर्चुअल बैठकले सहिद लिम्बूको परिवारजनसँग सवन्वय गरी उनको पार्थिव शरीरलाई आज अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।उनलाई नेपाल सरकारले सहिद घोषणा गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति वापत १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । लिम्बुवान १७ थुमको परम्परा अनुसार अन्तिम श्रद्धाञ्जली अर्पणसहित सहिद लाजेहाङको अत्येष्टि गरिने संघर्ष समितिले जनाएको छ ।
लाजेहाङको अन्त्येष्टिका लागि प्रदेश १ का विभिन्न जिल्लाबाट भेला हुने क्रम जारी छ । विभिन्न व्यक्ति/व्यक्तित्व, जातीय संघसंस्था, राजनीतिक दलको सहभागिता रहेको छ ।
शवको अत्येष्टि गरिए पनि ‘कोसी’ विरुद्ध आन्दोलन भने जारी रहने कियाचु अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए । मंगलबारै बसेको संघर्ष समितिको बैठकपछि एक विज्ञप्ति जारी गर्दै समितिले बैशाख १० गते इटहरी र ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
नेपालको सङ्घीयता कार्यान्वयनपछि प्रदेश नम्बर १ को नामाकरण पहिचानका आधारमा हुनुपर्ने मागसहित आन्दोलन र जनप्रदर्शनगर्ने क्रममा लिम्बूलाई गत चैत ५ गते बिराटनगरमा प्रहरीको लाठीले टाउकोमा लाग्दा उनी गम्भीर घाइँते भएका थिए । लिम्बूको धरानस्थित विपी कोइराला स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचारका क्रममा चैत १० गते निधन भएको थियो ।
प्रदेश नम्बर १ को नामाकरण प्रदेश सभाले गत फागुन १७ गते बहुमतको आधारका कोशी प्रदेश राख्ने निर्णय गरेपछि पहिचान पक्षधर संघसंस्था र राजनीतिक दलहरु निरन्तर कोशी नाम खारेज र पहिचानको आधारमा पुनः नामाकरण गराउन दबाब दिने भन्दै आन्दोलनमा छन् ।
