काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरण बिरुद्ध आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्ने भएको छ । लिम्बुलाई सहिद घोषणा गर्ने र उनको परिवारलाई राज्यबाट सहयोग गर्ने मन्त्री परिषदको निर्ण भएको पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीले जानकारी दिए ।
‘कोशी प्रदेश नामाकरण बिरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजिहाङ) लाई मन्त्रीपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु ।’, मन्त्री किरातीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
सहिद घोषणा गरिएको बारे अहिलेसम्म आधिकारिक प्रमाण पाइनसकेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेलन बताए । ‘फेसबुकमा देखिएको हो, अहिलेसम्म आधिकारिक प्रमाणपत्र पाइसकेको छैन । संभवत चाँडै पाइएला ।’, उनले भने ।
लाजेहाङलाई सरकारले सहिद घोषणा गरे पनि आन्दोलन नरोकिन बताए । अध्यक्ष येक्तेनले भने, ‘सहिद घोषणा गर्नु एउटा कुरा भयो तर आन्दोलन रोकिदैन । यो त आन्दोलनको एउटा परिघटना मात्रै हो । आन्दोलनको मुद्धा फरक छ । कोशी प्रदेश नामकरण खारेज गरी पहिचानको आधारमा पुनः नामकरण नगरेसम्म आन्दोलन रोकिदैन ।’
उनले संघर्ष समितिले २६ गते सरकारलाई अल्टिमेटम दिइने र सरकारको प्रतिक्रिया हेरेर अझ सशक्त आन्दोलन गरिने चेतावनी दिए ।
लाजेहाङलाई सहिद घोषणा गर्नुका साथै परिवारलाई क्षतिपूर्ति दिइसकेपछि लाजेहाङ शबलाई भने अब दाहसंस्कार गरिने अध्यक्ष येक्तेनले जानकारी दिए ।
प्रदेश १ लाई गत ८२ सांसदहरुले छापामार शैलीमा कोशी प्रदेश नामकरण गरेपछि पहिचान पक्षधरहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै क्रममा चैत ५ गते बिराटनगरमा भएको पहिचान पक्षधरहरूको बृहत् जनप्रदर्शनको अग्रपंक्तिमा रहेका लाजेहाङलाई पहरीले लाठी चार्ज गदाए उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते लिम्बुको ३ दिनपछि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य एवम् यस मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) का केन्द्रीय सह–कमान्डरसमेत रहेका लाजेहाङ वि.स. २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्मिएका हुन् । हाल उनी मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आएका थिए । लिम्बु ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल स.लो.रा. मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको स्थापना काल २०६२ देखि नै अति सक्रियताका साथ लिम्बुवान आन्दोलनमा होमिएका थिए । उनले एल.भी.को केन्द्रीय सह–कमान्डर एवम् न्याय विभागको जिम्मेवारी बहन गरिरहेका थिए ।
