काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । ३३ हजार ८०२ मतभारसहित पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । उनले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।
अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाएका छन् । नेम्बाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका हुन् ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।