काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने जनाइएको छ ।
निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान नगरेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ र नेपाल मजदुर किसान पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य छन् ।
मतदान नगर्ने संघीय संसदका सदस्यहरुमा वर्षमान पुन, चन्द्र भण्डारी, लक्ष्मी साह कोइरी, टेकबहादुर गुरुङले रहेका छन् । फौजदारी अभियोग लागेका महतो फरार छन् भने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका गुरुङ निलम्बित छन् । त्यस्तै पुन र भण्डारी उपचारका क्रममा मुलुक बाहिर छन् ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रवि लामिछाने पदमुक्त भएका थिए । जसपाका सहनाज रहमानको निधन भएको भने प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवले पनि बिरामी भएका कारण मतदानमा सहभागी हुन सकिनन् ।
संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने जनाइएको छ । मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।
रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।