June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता रहिआएको छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ फाल्गुन २४

965

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले महिलाहरूको संघर्षको जगमा संघीय समाजवादोन्मुख संविधान प्राप्त गरेको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको बताएका हुन् ।

शुभकामना सन्देशमा उल्लेख छ, ‘लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलन लगायतका गौरवपूर्ण संघर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ । यो गौरवपूर्ण संघर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीहरूका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको दाबी गरेका छन् । ‘जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ ।’, शुभकामना सन्देशमा भनिएको छ ।

Advertisement

यस्तै नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था गरेको भन्दै संघीय र प्रादेशिक संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने व्यवस्था गरेको हुँदा अग्रणी संविधान रहेको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्ड भन्छन् , ‘सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको छ । लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नैपर्दछ ।’