काठमाडौं : आठदलीय गठबन्धनको आइतबार बसेको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदलाई फागुन २३ भित्र राजधानी काठमाडौं आउन निर्देशन दिने भएको छ। राष्ट्रपतिको निर्वाचनका लागि उनीहरू सबैलाई राजधानी बोलाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।
बैठकले ८ दलका १/१ जना प्रतिनिधि रहने एउटा कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निर्णय पनि गरेको छ। बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सबै प्रदेशमा राष्ट्रपति निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।
बैठकले संघ तथा प्रदेशसभाका सांसदलाई फागुन २३ गतेसम्म राजधानी आइपुग्न निर्देशन दिएको छ। बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउन आह्वान पनि गरेको छ।