काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने बताए । आइतबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले र सर्वसम्मतका लागि कोसिस गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहने बताए । ‘सर्वसम्मत भए सो मच द वेटर । धेरै राम्रो हुन्छ, त्यो कोसिस गरिरहेका छौं, नभए नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझै सहयोगी हुने विश्वास लिएको छु ।’, प्रचण्डले भने ।
उनले हिजो भिन्न तरिकाले प्रधानमन्त्री बनेतापनि राष्ट्रपतिको चुनावको सन्दर्भमा आइपुग्दा आठ राजनितिक दल एक ठाउँमा आएको बताए । उनले भने, ‘निर्वाचन लड्दै गर्दा जुन राजनीतिक दलसँग मिलेर जनताकाबीच भोट मागेका थियौं, गर्दै जाँदा परिस्थिति नयाँ बन्यो, हिजो प्रधानमन्त्ती भिन्न तवरले भएँ । हिजो मात्र राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनितिक दल एक ठाउँमा भएका छौं ।’