काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । आइतबार ७३ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सरकार बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको बताएका हुन् ।
‘वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छ ।’, प्रचण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजको दिनलाई एतिहासिक रहेको बताउदै प्रजातन्त्र स्थापनाका निम्ति बलिदान गर्ने सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन् । उनले प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त समेत गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ । आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ । तसर्थ, ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ ।’