April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

कालकुटलाई कण्ठमा राखी विनास हुन जोगाएको दिन महाशिवरात्री

965

आज महाशिवरात्री । हिन्दु धर्मालम्बीहरूको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्री एक ठूलो पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस वर्षमा देशभरका शिवमन्दिरहरूमा पूजाआजा गर्नेहरूको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।

नेपालमा शिवको मन्दिरहरू धेरै नै रहेका छन् । शिवका विभिन्न स्वरूप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरू भन्दा शक्तिको प्रतिकको रूपमा शिवलाई मानिदै आएको छ । शिवको पूूजा, उपासाना विशेष गरि तीज, श्रावण महिना, माघे संक्रान्ति र महाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा, अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा विशेष आस्था, विश्वास र महत्वका साथ मनाउने गरिन्छ ।

Advertisement

महत्व
शिवरात्रीलाई भगवान शिवको रात्रीको रूपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुन् । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ ।

शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवका सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरू, बेलपत्र तथा अन्य फलफूलहरू हुन्छ जुन सबै शिव लिंगमा चढाइन्छ ।

त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, नौनी तथा महले भगवान शिवलाई स्नान गराइन्छ । महाशिवरात्रीको दिन परम्परा अनुसार सबेै भक्तजनहरू सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् ।

सकेसम्म विभिन्न पवित्र नदीहरूमा गएर पूजा गर्दछन । पवित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्य को पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरूले कसैले दूध पनि चढाउँछन ।

हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

विकृति पनि
पर्व मनाउने बाहानामा विभिन्न नकरात्मक क्रियाकलापहरू बढ्दै गएका छन् । चाडपर्वलाई संस्कृति भन्दा पनि बढि मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रूपमा विकशित गरिदै आएको देखिन्छ । भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो घोट्टा आदिको खुलम खुल्ला सेवन गर्ने चलन छ । यो खाएपछि शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएका छन् ।

बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको शिकार बन्न पुगेका छन् यसले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।

हाम्रो समाजमा धेरै युवायुतीहरू नसालु पदार्थको सिकार भएर आज त्यहि नसालु पदार्थ बिना बाच्न नसक्ने अवस्थामा पुगेका धेरै घटनाहरू हाम्रो समाजमा व्याप्त छन् । शिव भगवानको प्रसादको रूपमा प्रयोग हुने विभिन्न नसालु पदार्थ हामीले जति सार्वजनिक रूपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौ त्यति नै मात्रामा हाम्रो समाजका धेरै युवापिढीहरू कुलतमा फस्ने र समाजमा विभिन्न अपराधिक क्रियाकलापहरूमा बढ्ने सम्भावना धेरै हुन्छ ।