February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

1.2K

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा शुक्रबार पनि सुनुवाइ हुँदैछ।

यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेका थिए। पूरा नभएका कारण सुनुवाइ शुक्रबारका लागि सारिएको हो।

Advertisement

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ।

अमेरिकाको नागरिकता र राहदानी प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।

लामिछाने मंसिर ४ गते सम्पन्न चितवन–२ मा प्रतिनिधिसभा निर्वाचित भएका थिए। गत पुस ११ गठित मन्त्रिमण्डलमा उनलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।