February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपति बन्छ : जनार्दन शर्मा

1.5K

काठमाडौं : पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपतिमा विजयी हुने बताएका छन्। उनले सरकारमा भएका दलहरूले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठकपछि शनिबार सञ्चारकर्मीसँग उनले सत्ता गठबन्धनले नै राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका हुन्। उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरूसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए।

काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै उनले गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवारी पर्ने र जित्ने निश्चित रहेको बताए।

Advertisement

उनले भने, ‘अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीहरूमा सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ। छलफलपछि मात्रै को हुन्छ भन्न सकिन्छ। गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वःस्फूर्त छ। काँग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन। सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो। भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ। किनभने गठबन्धनमा अहिले बहुमत छ‚ निर्वाचित बहुमतले गर्ने हो। सरकारमा भएका दलहरूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुन्छ।’

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिइसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने दावी पनि गरे।