काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकामध्ये ६९ जनाको शव निकालिएको छ । प्रहरीका अनुसार अब ३ जनाको शव फेला पर्न बाँकी छ । जहाजमा चालक दलका चार जनासहित ७२ जना थिए ।
दुर्घटनामा परेकाहरूको शव खोजी गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर टोली परिचालन गरिएको हो । सशस्त्रका १५ जनाको टोली शव खोजी गरिरहेको छ ।
दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । तीमध्ये ६९ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । अन्यको शब खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छ ।
विमानमा १५ जना विदेशी नागरिक थिए । तीमध्ये ५ भारतीय, ४ रसियन, कोरियाका २ र आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक÷एक नागरिक विमानमा थिए ।
आज बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज सेती खोंचमा खसेको थियो । क्याप्टेन कमल केसी नेतृत्वको चालक दलले उडाएको जहाज १०ः५० बजे अन्तिम पटक पोखरा टावरसँग सम्पर्कमा आएको थियो । सेती खोँचबाट सम्पर्कमा आएको एक मिनेटभित्रै दुर्घटना भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ । कार्यालयका एक अधिकारीका अनुसार क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३० मा ल्याण्ड गर्न आग्रह गरेका थिए । तर, केसीले अर्को रनवे मागेको ती अधिकारीले बताए ।
रनवे थ्री जेरोमार्फत ल्याण्ड गर्न भन्दा क्याप्टेनले होइन १२ बाट आउँछु भनेर अर्को रनवे खोजेको र अर्को रनवेबाट आउन क्लियरेन्स दिने वित्तिकै दुर्घटना भएको जनाइएको छ । दुर्घटना हुनुको कारण भने अहिलेसम्म खुलेको छैन ।