November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्रीले अधिकार नै नभएको कदम चाल्नुभयोः सभामुख सापकोटा

2.2K

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन्। बिहीबार विभिन्न पार्टी सम्बद्ध महिला संघका संयुक्त टोलीको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रधानमन्त्रीले अधिकार नै नभएको कदम चालेको बताएका हुन्।

यसअघि पनि विज्ञप्ति निकालेर आफूले उक्त कुरा उल्लेख गरिसकेको स्मरण गर्दै सभामुख सापकोटाले संविधानको रक्षाका लागि आफ्नो भूमिकाबारे परामर्श लिइरहेको समेत बताएका थिए।

‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले दिएको छैन,’ उनले भने, ‘यो विषय समावेश गरी अदालतमा उत्तर दिन पनि लागिएको छ।’

Advertisement

महिला संगठनहरुले बुझाएको ध्यानाकर्षणपत्रमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर देश र नेपाली जनतालाई अनिश्चितकालीन अन्धकारको सुरुङभित्र धकेलिदिएको उल्लेख छ। उनीहरुले प्रतिनिधिसभा विघटनको घोषणा खारेज हुनुपर्ने माग समेत गरेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गर्न नसके अब बन्ने कुनै पनि प्रधानमन्त्रीले आफ्नो निजी स्वार्थ पूरा गर्न बारम्बार प्रतिनिधि सभा विघटन गर्ने नजिर रहने भन्दै महिला संगठनहरुले चिन्ता व्यक्त गरेका थिए।