July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

सुकुम्बासीहरुले घेरे महानगरपालिका, लालपूर्जा हात नलागेसम्म आन्दोलन जारी राख्ने

1.6K

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरु एकजूट भई महानगरपालिका घेर्न पुगेका हुन । सुकुम्वासीहरु ठूलो संख्यामा रहे पनि नेपाल प्रहरी भने मुकदर्शक बनेको छ । माथिको आदेश भन्दै प्रहरीले महानगरपालिकालाई असहयोग गरेको छ भने सुरक्षामा नगर प्रहरी मात्रै तैनाथ गरिएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाले थापाथलीमा सोमबार भएको झडपमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरु विरुद्ध जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा उजुरी गरेको छ ।

Advertisement

हतियारसहित आक्रमण गरी नगर प्रहरीलाई घाइते बनाउनेहरु विरुद्ध महानगरले किटानी उजरी गरेको हो । सुकुम्वासीहरुको आक्रमणबाट महानगर प्रहरी बल प्रमुख राजु पाण्डे सहित १८ जना नगर प्रहरी घाइते भएका थिए ।

महानगरले नगर प्रहरी शर्मिला बोगटीलाई कब्जामा लिएर निर्घात कूटपिट गरेको र उनीसहित तीन जना नगर प्रहरीलाई उपचारका लागि आईसीयुमा राख्नुपरेको जनाएको छ । ।

अनधिकृत संरचना हटाउन कानुन बमोजिम काममा खटिएका नगर प्रहरीहरूमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न महानगरले माग गरेको छ ।

यता, आन्दोलनरत सुकुम्बासीले सरकारले स्थायी बसोबासको लालपुर्जा आफूहरूको हातमा नराखेसम्म बसोबास गर्दै आएको बस्ती छाड्ने सम्भावना नै नभएको बताएका छन्। सरकारले उपत्यकाका सुकुम्बासीलाई इचंगुनाराणमा सार्ने तयारी गरेको छ। तर लालपुर्जाबिना इचंगुनारायणमा नजाने उनीहरुको भनाइ छ ।

बाग्मती सभ्यता एकीकृत विकास समितिले गत कात्तिक २५ गते सार्वजनिक सूचना निकाली १० दिनभित्र बाग्मतीको नदि किनारामा बस्ती खाली गर्न, त्यो नभए विकास समितिले आफैं खाली गर्ने चेतावनी दिएको थियो। यस्तो चेतावनी दिएको १७ दिनपछि विकास समितिको समन्वयमा महानगरले सुकुम्बासी टोलमा डोजर लगाएको थियो।