काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । तराई, मधेसलगायत विभिन्न भागमा मनाइने पर्वको अवसरमा प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका हुन् र
श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गन मद्दत पुगेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरेका छन् । तराई, मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको प्रधानमन्त्री देउवाले बताए ।
यस्तै, यी पर्व र संस्कृतिले समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पु¥याउँदै आएको पनि उनले बताए ।
कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उनले सबैमा आग्रह गरेका छन्।
नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न गरिन्छ ।