काठमाडौँ – सम्पुर्ण देशभरीका लोकतन्त्रका योद्धाहरू आन्दोलनमा रहेका छन्। फेरि एकपटक सडकमा आउनुपरेको छ। हरेक पटक सडकमा आउनु हाम्रो रहर होइन। केपी शर्मा ओलीजस्तो तानशाहले संविधानमाथि बलात्कार र लोकतन्त्रमाथि प्रहार गरेका छन्। जसका कारणले हामी सडकमा आउन बाध्य भएका छौँ।
हरेक सडकमा जनता उत्रिएका छन्। पुस ५ गते केपी ओलीले प्रतिगामी कदम चालेका छन्‚ त्यसका विरुद्धमा हामी उत्रेका छौँ। हाम्रो पार्टी नेकपा अहिले सडकमा उत्रेको छ। यो २००६ सालमा बनेको पार्टी हो। यो पार्टीले नै देशमा अहिलेसम्म चलेका आन्दोलनको नेतृत्व गरेको छ। २०४६ देखि २०६२/६३सम्म यसको नेतृत्व यसले गरेको छ। संविधान निर्माणको अगुवाई गर्ने पनि यही पार्टी हो। विगतको निर्वाचनमा पाएको बहुमत ल्याउने पनि यही पार्टी हो।
बालुवाटारमा बस्ने तानाशाही गुटमात्रै हो। जनताले दिएको जनादेशमाथि त्यसले घात गरेको छ। हामीले प्राप्त गरेको विजय नेकपाको थियो‚ केपी ओलीको थिएन। तपाईंहरूले केपी ओलीलाई दिनुभएको भोट होइन। हामी समाजवादतर्फ अघि बढ्छौँ भनेर दिएको भोट हो। तर त्यसको दुरुपयोग गरेर संविधान र लोकतन्त्रमाथि हमला भएको छ। आजबाट संघर्षको यात्रा सुरु भएको छ।
सिङ्गो देशमा प्रतिगमनका विरुद्ध नारा सुरु भएको छ। अहिले प्रश्न उठेको छ। आधिकारीक पार्टी कुन हो? यो सभामा उभिएको पार्टी नै आधिकारीक पार्टी हो। नाममात्र होइन सूर्य पनि यही पार्टीको हो। यो पार्टी अब देशव्यापाी रुपमा लोकतन्त्र र संसद पुनर्स्थापनाका लागि अघि बढ्छ। देशका लागि अघि बढ्न पुरानो अनुभवसहित २ तिहाई ल्याएर केपी ओलीमाथि अपार विश्वास गरेका थियौँ।
१४ वर्ष जेल बसेर आएको हो‚ झापा आन्दोलनमा राम्रो भूमिका निभाएको होइन। विश्वास गरेर नेताको रुपमा खडा गरेका थियौँ। पार्टी एकीकरण गरेर पार्टीको विश्वाससहित जिम्मेवारी दिएका थियौँ। हाम्रो नीतिअनुसार समाजवाद उन्मुख पार्टीका रूपमा अघि बढाउन जिम्मा दिएर अपेक्षासहित पठाएका थियौँ। उहाँले बालुवाटर पुगेपछि यो बिर्सनुभयो।
पार्टीलाई उहाँले भर्याङमात्र बनाउनुभयो। पार्टीको निर्णय मान्नुभएन। नीति कार्यक्रम, योजना बनाउने काम गर्नुभयो। हामीले पटक पटक पुँजीवादी नीतिको विरोध गर्यौं। समाजवादमा जान नयाँ नीति चाहिन्छ भन्यौँ तर उहाँले एक पटक सुन्नु भएन। तर जबरजस्ती पुँजीवादी नीति लिनुभयो। बजेट पनि न्यायोचित रुपमा भएन। गफमात्रै हाँकेर तीन वर्ष बिताउनुभयो।
कहिले रेल ,कहिले पानी जहाज भनेर गफ हाँक्नुभयो। खै हाम्रो घरमा ग्याँस चुलो? आफ्नो घरमा मात्र जोड्नुभयो होला। उखान टुक्कामात्र हालेर बस्नु भयो। यो तीन वर्ष खेर गयो। मरिचमान श्रेष्ठले जति पनि काम गर्नुभएन। उल्टै उहाँले विश्व चकित पर्ने काम गरेको दाबी गर्नुभयो। यत्रो सडक र पुल बनाएँ भन्नुभयो। रानीपोखरी बनाएसम्म भन्नुभयो। उहाँले हो रानीपोखरी र धरहरा बनाएको? यो त सिकर्मी र कलाकर्मीले बनाए।
अशिक्षा, गरिबी उन्मुलन गर्नुपर्यो। उहाँको तुइन उन्मुलन खै त भएको? अहिले पनि मानिसहरू खोलामा खसेर मरेका छन्। देश अगाडि गएन। पार्टीले भनेको कुरा उहाँले सुन्न छाड्नुभयो। पार्टीको निर्णय मान्नुभएन। केपी ओलीले पार्टी एकताको कुरामा सधै बाधामात्र गर्नुभयो। अब आन्दोलनको आँधी हुरी सिर्जना गरेर संविधान ठिक ठाउँमा ल्याउनुपरेको छ। यो प्रगतिशील संविधान हो। संसदको विघटन गर्न पाउने छैन भनेर संविधान बनाउँदा हामीले बुद्धि पुर्याएर विघटन गर्न नपाउने भनेर राखेको हो। संविधान सभा मार्फत बनाएको संविधानमा प्रधानमन्त्रीको सनकबाट विघटन गर्न नपाउने विशेषाधिकार हटाएका थियौँ।
हामीले यही विषयमा तीन घण्टा बहस गरेका थियौँ। केपी ओली पनि त्यही बहसमा थिए। तर अहिले उनैले यो संविधान प्वाल पारेका छन्। यसलाई स्वीकार गरेमा देश अस्थिरतामा जान्छ। यसलाई टाल्नुपर्नेछ। नत्र देश अस्थिरतामा जानेछ। संसदको पुनर्स्थापना नै स्थिरताका लागि हो। अब यो पुनर्स्थापना नभएसम्म नेपाली जनता उठेका छन्। अब राष्ट्रव्यापी रुपमा आन्दोलनको आँधीबेरी ल्याउनुपर्ने अवस्था छ।
प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र जसपा संघर्षमा उत्रेका छन्। हाम्रो पार्टी सबैमा एकेबद्धता व्यक्त गर्दछ। लोकतान्त्रिक शक्ति एक हुनुपर्छ। यो केपी शर्मा ओलीको तानाशाह प्रवृत्तिविरुद्धको यो संघर्ष सफल पारिछाड्ने संकल्प गरौँ।
(प्रतिनिधि सभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा खनालले गरेको सम्बोधनको सम्पादित अंश।)