काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन् । पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा पोखरा जान लागेका हुन् ।
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहबीच प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नेछन् ।
समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ । यसअघि गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।
समारोह उपसमितिका अनुसार प्रतियोगिताको समापनमा मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह हुन्छ । यस्तै, च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ ।
समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा भव्य आतिशबाजीसहित समारोहको समापन हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।