काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज मंगलबार काठमाडौं उपत्यकामा आमसभा गर्दैछ।
आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नेछन्। आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ।
यी स्थानमा हुदैँ छ जुलुस
टेकु र कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरु सहभागी हुने छन्। यस्तै नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुने छन्। मैतिदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुने छन्। लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन्। यस्तै विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकालेर भृकुटीमण्डप पुग्ने छन्। आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ।