काठमाडौँ — सत्तारुढ गठबन्धनले रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केन्द्रीय परिचालन कमिटी गठन गरेको छ । गठबन्धनको बालुवाटारमा बिहीबार बसेको बैठकले प्रदेश तथा जिल्ला तहमा निर्वाचन समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा यस्तो समिति गठन गर्ने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनले आगामी चुनावलाई लक्षित गर्दै सातै प्रदेशमा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । यस्तो भेला पोखरा, बुटवल, विराटनगर, जनकपुर, धनगढी, सुर्खेत, काठमाडौंमा आयोजना गर्न लागेको हो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टी प्रदेश कमिटीका पदाधिकारी, जिल्ला प्रमुखसहित ३-३ जना सहभागी हुने छन् ।
गण्डकी प्रदेशको कात्तिक ४ गते पोखरामा हुने भेलाको व्यवस्थापनको जिम्मेवारी नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।
त्यसैगरी कात्तिक ४ मै लुम्बिनीको बुटवलमा, कात्तिक ५ गते प्रदेश १ को भेला विराटनगर, कात्तिक ५ मा मधेस प्रदेशको जनकपुरमा भेला आयोजना गरिने छ । जसको व्यवस्थापनाको जिम्मेवारी नेपाली कांग्रेसको भागमा परेको छ । जनकपुरमा आयोजना हुने भेलामा लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) पनि आमन्त्रण गरिएको छ ।
कातिक ६ गते सुदूरपश्चिमको धनगढी र कात्तिक ७ गते वागमतीको काठमाडौंमा आयोजना हुने भेला माओवादीले आयोजना गर्नेछ । त्यसैगरी कात्तिक ६ गते कांग्रेसको व्यवस्थापनमा कर्णाली प्रदेशको भेला सुर्खेतमा हुनेछ ।