काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्रमोहन यादवले पार्टीको प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगलाई निवेदन दिएका छन् । पार्टीले विधिविपरीत कायम गरेको आफ्नो उम्मेदवारीलाई बन्दसूचीमा वरीयताको उपयुक्त क्रम नमिलाई आयोगमा पेस गरिएकाले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।
यादवले सोमबार उक्त निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै लेखेका छन् ‘मैले प्रतिनिधिसभाको सदस्यका लागि आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा पार्टीको निर्देशनअनुसार सामानुपातिकतर्फ नामांकन गरेको थिएँ । तर पार्टीले कायम गरेको विधिविपरीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकाले म आफ्नो नामांकन फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छु ।’
उनले आफ्नो उम्मेदवारी मधेसी समूहको क्रम संख्या नं. २ को सट्टा ३ मा राखिएको जानकारी आफूलाई प्राप्त भएको भन्दै उक्त वरीयतामा चित्त नबुझेकाले नाम फिर्ता लिनका लागि आयोगसमक्ष निवेदन दिएका हुन् ।