काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि निर्वाचन खर्चको सीमा तोकेको छ।
निर्वाचन आयोगले आइतबार निर्णय गरेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्चको सीमा तोकेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन क्षेत्रका आधारमा फरक–फरक हुनेगरी खर्चको सीमा तोकिएको बताए।
मतदाताको संख्या, भूगोल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा तोकिएको उनको भनाई छ। विसं २०७४ सालको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमालाई आधार मानेर आगामी निर्वाचनमा उम्मेदवारले खर्च गर्ने सीमा निर्धारण गरिएको बताए।
आयोगले विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ प्रति उम्मेदवार २५ लाख रूपैयाँ खर्च सीमा तोकेको थियो। प्रवक्ता पौडेलले प्रतिनिधिसभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख रूपैयाँ, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रूपैयाँ, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रूपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रूपैयाँ र २६ वटा निर्वाचन क्षेत्रमा ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने सीमा (अनुसूचीअनुसार) तोकिएको जानकारी दिए।
प्रदेशसभा सदस्यतर्फ ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख रूपैयाँ, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख रूपैयाँ र ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख रूपैयाँ खर्चको सीमा तोकिएको जानकारी उनले दिए। २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख रूपैयाँ र ३२ वटा निर्वाचन क्षेत्रमा २३ लाख रूपैयाँ तोकिएको पनि उनले उल्लेख गरे।
उनका अनुसार समानुपातिक तर्फका सदस्यको भने राजनीतिक दललाई खर्चको सीमा तोकिएको छ। जसअनुसार दलले उठाएको सदस्यका आधारमा प्रति सदस्य प्रतिनिधिसभातर्फ २ लाख रूपैयाँ र प्रदेशसभातर्फ १ लाख ५० हजार रूपैयाँ तोकिएको छ।