April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन छः रामवरण यादव

1.4K

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका काकरण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढीरहेको बताएका हुन् ।

दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले समस्या सिर्जना गरिरहेको राष्ट्रपति यादवले बताए । उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए । वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको उनको दुखेसो थियो ।

प्रकृति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेको बताए । यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

Advertisement

प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताउदै प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोनालगायतका विभिन्न रोगहरु आइरहेको उनले बताए ।

यस्तै, यादवले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताउदै अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह गरेका छन् ।

‘गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति थियो तर के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त ? राजनीतिबाट पनि मोक्ष प्राप्ति हुन्छ, राजनीति अरुका लागि, समाजका लागि, देशका लागि, निमुखाका लागि हुनुपर्छ, तर खै सिकेका ? त्यसैले अब युवाले निमुखाको पक्षमा राजनीति गर्नुपर्छ ।’, पूर्वराष्ट्रपति डा यादवले भने ।

भारतमा गान्धीले समाजसँग, जनतासँग, देशसँग जोडेर स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै उनले चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन उनको योगदान ठूलो रहेको बताए । मानिसले नै अहिले प्रकृतिको विनाश गरेर नेपाल मात्रै होइन विश्वमा बढ्दो जलवायु परिवर्तनले २२ औँ शताब्दीमै मानव सभ्यता मुस्किल सङ्कटमा पर्ने जनाउँदै उनले विश्व सङ्कटमा र आफ्नो देश सङ्कटमा पर्दा पनि देशको नेतृत्व गर्नेलाई कुनै मतलब नभएको टिप्पणी गरे ।

कुनै पनि प्रश्न बिना जीवनको अर्थ नहुने भन्दै उनले मानव जातीले जल, जमीन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य सङ्कट, इन्धन सङ्कट बढ्दै जाँदा विश्वमा करोडौँ मानिस भोकमारीको चपेडामा परिरहँदा युक्रेन र रुसको युद्धले विश्व आक्रान्त बनेको बताए ।

कार्यक्रममा दिल्ली विश्वविद्यालयका प्रा रामचन्द्र प्रधान, गान्धी पुरी आश्रमका संस्थापक अध्यक्ष अगष्ट इन्द्र उदियान, भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसनका प्रतिनिधि प्रसन्न श्री वास्तब, गान्धी तुलसी दर्शन अध्ययनका शङ्कर तिवारी, जापानी नागरिक किसिमोटो आगुमी, नानाका हिगुची, पूर्व सङ्घीय सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलगायतले गान्धीले ल्याएको स्वतन्त्रताका बारेमा चर्चा गरेका थिए ।