काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरिसकेको बताउँदै अब पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको टाउकोमा खड्ग हान्न मात्रै बाँकी राखेको आरोप लगाएका छन्। राजधानीको शान्तिवाटिकामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभामा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन्।
‘केपी ओलीको भ्रमबाट ढिलै भएपनि प्रचण्ड र माधवकुमार नेपाल थोरै मुक्त हुनुभएको छ। अझै केपी ओली आउँनुभयो भने मिलेर जान सकिन्छ भनेर बोल्दै हिड्नु भएको छ,’ भट्टराईले भने, ‘केपी ओलीले गोदेका गोदेकै छन्। ठोकेका ठोक्यै छन्। खड्गप्रसादले खड्ग प्रहार गरेका गर्यै छन्। उहाँहरुले आउँनुस् मिलेर जाऔँ भन्दै हुनुहुन्छ। केपी ओलीले तपाईंहरुको टाउँकोमा हान्न मात्रै बाँकी छ।’
केपी ओलीलाई छोडेर संयुक्त आन्दोलनमा आउन प्रचण्ड-माधवलाई भट्टराईले आग्रह गरे। ‘संयुक्त जनआन्दोलन बिना यो प्रतिगमन सच्चिनेवाला छैन। राजा महेन्द्रको प्रतिगमन हटाउन ३० वर्ष लाग्यो। पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन ४ वर्षभित्रै सडकबाटै गुल्ट्यायौँ,’ उनले भने, ‘केपी ओलीको प्रतिमगनलाई केही वर्ष होइन। केही महिनाभित्र हामीले उल्ट्याउन सक्छौँ।’
पञ्चायतमा राजाले चुनाव गर्दा पनि आफूहरु सहभागी नभएको बताउँदै भट्टराईले ओलीले गराउने चुनावमा सहभागी नहुने दाबी गरे।