सोलुखुम्बु । सहरी विकास मन्त्री मेटमणि चौधरीले खुम्बु पासाङल्हामु गाउँपालिका–४, पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् ।
सो अवसरमा मन्त्री चौधरीले सर्वोच्च शिखर सगरमाथाको काखमा आउन पाउँदा निकै खुसी लागको बताएका छन् । ‘खुम्बुबासीको माया म भुल्ने छैन,’ उहाँले भन्नुभयो, ‘यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि लागिपर्नेछु ।’
विकासको काममा दलभन्दा माथि उठ्नुपर्ने भन्दै मन्त्री चौधरीले ‘भोलि पदमा रहँला वा नरहँला तर खुम्बुको विकासमा सधैँ पहल गर्नेछु, । यहाँको जनताको विकासको चाहना पुरा गर्न लागिपर्नेछु ।’
कुल ३ करोड ६९ लाख् लागतमा निर्मित स्वास्थ्य चौकी सि एम कन्स्ट्रक्सन प्रालि जोरपाटीले निर्माण गरेको हो । १८ महिनामा समापन गर्ने भनेर सम्झौता भएको सो भवन ११ महिनामै सम्पन्न गरेकोमा मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसासमेत गरे ।
१२ हजार ८७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उचाइमा निर्मित सरकारी भवन हो ।
सो अवसरमा मन्त्री चौधरीले सात सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको निरिक्षण गर्नुका साथै यसको पुननिर्माणका लागि ७ करोड विनियोजन गर्ने घोषणा समेत गरेका छन् ।
त्यसैगरी ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतिका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड, हिमाली सहर लुक्ला लगायत अन्य तीन सहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासका लागि डिपिआरदेखि हाइ अल्टिच्युड स्पोर्ट सेन्टर तथा कन्फरेन्स हल निर्माणका लागि ८ करोड विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
