March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

प्रधानमन्त्री देउवा र लोसपा नेताहरूबीच भेटवार्ता

1.2K

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूबीच भेट भएको छ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो। प्रधानमन्त्री देउवाले आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिन प्रक्रिया सुरू गर्ने प्रतिबद्धता जनाएको र सरकारमा सहभागी हुन समेत आग्रह गरेको लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले बताए।

Advertisement

‘नागरिकता विधेयक पास भइसकेको छ। योसँगै हाम्रो एउटा माग पूरा भएको छ। अब मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता बाँकी छ। त्यो पनि प्रधानमन्त्रीले प्रक्रिया सुरू गर्ने भन्नुभएको छ,’ महतोले भने, ‘मुद्दा फिर्ता भइसकेपछि हामी सरकारमा सहभागी हुने बाटो खुल्छ। हामी पाँच दलीय गठबन्धनमा सहभागी हुने र सरकारमा सामेल हुने विषयमा सकारात्मक छलफल भएको छ।’

सरकारमा सहभागिताबारे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि अघि बढ्ने महतोले बताए। प्रचण्ड अहिले जापान भ्रमणमा छन्।

प्रतिनिधिसभा विघटन नभएकाले सरकारमा सहभागी हुन मिल्ने महतोले बताए।

‘संसद रहेसम्म सरकार त परिवर्तन गर्न मिल्छ भने मन्त्री फेरबदल गर्न नमिल्ने भन्ने हुँदैन,’ उनले भने, ‘चुनावको मिति घोषणा भए पनि हामी सरकारमा जाने सम्भावना अझै छ।’