March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

संसदमा आज प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची

1.8K

काठमाडौं :  प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने भएको छ। विहान ११ बजे बस्ने बैठकमा महाभियोग प्रस्ताव अघि बढाउने कार्यसूची छ।

‘मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने,’ आजको सम्भावित कार्यसूचीमा भनिएको छ।

pin up pinup

गत १ फागुन गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का ९८ जना सांसदको हस्ताक्षरसहित जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो। तर, संसद सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन।

Advertisement

संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो।

२२ फागुनमा बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको छानबिन गर्न ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो। 

समितिमा कांग्रेसबाट मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, माओवादीबाट यशोदा सुवेदी र रेखा शर्मा छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहेका छन् भने  प्रमुख प्रतिक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्वाहाङ्फे र कृष्णभक्त पोखरेल छन्।

महाअभियोग प्रस्ताव दर्ताभएसँगै जबरा भने निलम्बनमा परेका छन्। प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको छ।