इटहरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ। पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ। शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो।
शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ। यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ। मध्याह्न १२ बजे कोसी ब्यारेज भएर दुई लाख दुई हजार चार सय ७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो। पानीको बहाव क्रमशः बढेसँगै ३३ ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।