काठमाडौं : २८ औँ विश्व आदिवासी दिवस नेपालका आदिवासीहरुले पनि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन्।
नेपाल आदिवासी जनजाति महासंघको संयोजकत्वमा बनेको ‘विश्व आदिवासी दिवस २०२२ मूल समारोह समिति’ले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साताव्यापी कार्यक्रम गरी मनाउने तयारी भएको जनाएको हो।
आदिवासीको पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणका मुद्धामा केन्द्रित कार्यक्रमहरु गरी दिवस मनाउने तयारी भएकाे महासंघका महासचिव दिवस राईले जानकारी दिए।
दिवसको मुख्य दिन श्रावण २४ गते महासंघमा आवद्ध सबै जातीय संगठनहरुको सहभागितामा जातजातिको सांस्कृतिक झाँकीसहितको र्याली र प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरिने महासंघका महासचिव राईले जानकारी गराए।
त्यस अघि मौलिक भाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृतिसहितका प्रदर्शनी, जातीय वेषभुषासहित भृकुटीमण्डपको प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गर्ने कार्यक्रम रहेको जनाइएको छ।
विश्वका आदिवासीहरूले २८ वर्ष देखि मनाउँदै आएको विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले अधिकारका लागि आन्दोलन र सांस्कृतिक उत्सवका रुपमा मनाउँदै आएका छन्।
आदिवासी जनजातिहरूको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, उनीहरूको मौलिक ज्ञान, सीप र उनीहरुको थातथलोको संरक्षण एवम् प्रवर्द्धन गर्ने तथा राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिताको मुद्दालाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउने गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको सन्दर्भमा यो वर्ष ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणका लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मूल नारा तय गर्दै अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०२२ भव्य रुपमा मनाउने जनाएको छ।