March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

सप्तकोसी कटान: प्रभावितहरूको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

2.8K

काठमाडौं । गृह मन्त्रालयले सप्तकोसीको बाढी प्रभावितहरूको उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएको छ । कोसीले कटान सुरु गरेपछि
मातहतका निकायलाई जोखिममा रहेका परिवारको स्थानान्तरण, उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयमातहतका सबै निकायलाई अलर्ट राख्दै बाढी प्रभावितको उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।  

मन्त्री खाँणले बेलकामा सप्तकोसीको कटान र जोखिमबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत छलफल गरेका छन् । कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्ने भन्नेबारे मन्त्रीद्वयबीच छलफल भएको छ ।

प्रहरीका अनुसार सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि आसपासका २ हजार ४ सय घरधुरी जोखिममा परेका छन् । प्रहरीले जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिरहेको छ । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको छ ।

Advertisement

कटान निरन्तर बढिरहेकाले उनीहरूलाई त्यहाँबाट स्थानान्तरण गर्नुको विकल्प नभएको र नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम गरिरहेको छ ।

कटानले सबैभन्दा बढी डुम्रिकोट र लाहुरेखोँचमा प्रभावित बनाएको प्रहरीले जनाएको छ ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनील पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायव महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखेको सेनाले जनाएको छ ।