काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सरकारले सत्य कुरा बाहिर ल्याउन नदिएको आरोप लगाएका छन्।
एमाले निकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले छानबिन समितिमा आफ्नै बहुमत सदस्य राखेर सत्य कुरा बाहिर ल्याउन नदिइएको बताएका हुन्।
उनले कमिसन खाएर व्यापारीको एजेन्ट राखेर करका दर तोकिएको पुष्टि भएको दाबी गरे। कल डिटेल दिएपछि सबै कुरा आउने भएपछि छानविन समितिका बहुमत सदस्यले पेलेर अघि बढेको उनको भनाइ छ।
यस विषयमा ओलीको भनाइ जस्ताको तस्तै:
गठबन्धन देशको लागि अभिशाप हो। यसको व्याख्या गर्नु पनि जरुरी छैन। देशको हितको लागि अभिशाप नै हो। कमिसन खाएर व्यापारीको एजेन्ट राखेर करका दर तोकिन्छ। यो भन्दा लज्जास्पद के हुन्छ? छानविनको माग गर्दा किन गर्ने भन्ने? सिसिटिभी फुटेज माग्दा किन दिने भन्ने? नबुझिने खालको दिने। कल डिटेल माग्दा हेर्न हुँदैन भनेर नदिने। हेर्यो भने त भेटिहाल्छ। आयोगले हेर्न मान्दैन भने त्यो आयोग हुन्छ?
जसलाई चाहियो उसको अल्पमत सदस्य राखेर छानबिन समिति बनाइएको छ। त्यो बहुमतले गठबन्धनको भनाइ अनुसारको रिपोर्ट दिन्छ। परीक्षण गर्ने प्रहरी माथिल्लो तहको भए एसपी होला,आइजिपीलाई त बोल्नै दिँदैन गठबन्धनले,एसपीले के गर्छ? जस्तो रिपोर्टले भन्छ त्यस्तै दिन्छ। फुटेज किन डिलिट गरियो?किन दिन्न भनियो? बहुमत राखेर किन समिति बनाइयो? बजेट निर्माण गर्दा बजेट र देशमारा काम भयानक अपराधिक काम भएको पुष्टि भयो।
हामीले निष्पक्ष छानविन गर्न खोज्दा दिइएन। कल डिटेल दिइएन। मेरो च्यालेन्ज मान्ने हो भने ठिक छ‚ अन्तराष्ट्रिय छानबिन गरौँ। यो देशका विरुद्ध अपराध हो। अर्थतन्त्रका विरुद्धको अपराध हो। उद्योग व्यवसायीका घाँटी निमोठिएको छ। एकाध घरानालाई पोस्न उद्योग र अर्थतन्त्रलाई जानीजानी धराप पारिएको छ। यो मामुली कुरा हो? अहिले त गल्ती नै भएको छैन रे। प्रमाणित भएन रे। ७ जनाले प्रमाणित गर्नै दिइएन ७ जना आफ्नो बहुमत राखेर हाम्रो ४ जना हाम्रो राखेको छ।
त्यो त संसदमै गरेको भए भइहाल्यो। त्यो कुनै तथ्यमा आधारित रिपोर्ट होइन। त्यसलाई जनताले अस्वीकार गर्नुपर्छ। हामी सत्यमा अडिएर अगाडि बढ्नुपर्छ। देशको अर्थतन्त्र ध्वस्त हुँदैन। देश बर्बादीको दिशामा जाँदैछ। हामीले त्यो सबैलाई रोक्नुपर्छ।