March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको हो: पर्यटनमन्त्री श्रेष्ठ

2K

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन् । शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले फोहोरमैला सामान्य कुरा भएपनी यसलाई ठूलो बनाइएको बताएका हुन् ।

मन्त्री श्रेष्ठले भने,‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं । फोहोरमैलाभित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ । त्यहाँभित्रको गिरोहले ।’

उनले फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए । सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको उनले बताए ।

Advertisement

फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापनका लागि आफूहरू सहयोग गर्न तयार रहेको मन्त्री श्रेष्ठले बताए । ‘हामी मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान सुरु हुनेछ,’ उनले भने यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौं । ‘

यस्तै, मन्त्री श्रेष्ठले रात्रिकालीन पर्यटन व्यवस्थित बनाउन पर्यटकीयस्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे । ‘नाइट टुरिजमको कुरा गरिरहँदा पर्यटकहरुलाई घुमाउने कुरा गर्दा त्यो किसिमको स्थानीय वातावरण तयार गर्नुपर्छ । सरसफाइ र हाम्रा सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ,’ उनले भने ।