March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

बजेट पेशअघि अनधिकृत व्यक्तिको संलग्नतामाबारे छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

2.3K

काठमाडौं । संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदै छ । समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ । त्यसका लागि सभामुखसँग समय मागिएको बताइएको छ ।

प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर बसेको विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत राखेका छन् ।

Advertisement

छानबिनको क्रममा समितिले तत्कालीन मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायत विभिन्न पक्षसँग छलफल गरेको थियो ।

अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गराएरसमेत अध्ययन गरिएको थियो । तर समितिले अनधिकृत व्यक्तिको संलग्नता भएको पुष्टि गर्न भने सकेन ।