काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन् । उपसभामुखको साढे २ वर्षदेखि रिक्त संवैधानिक पदमा सत्तारुढ गठबन्धनबाट भुसाल निर्वाचित भएकी हुन् ।
संघीय संसद्का गतिविधिमा पछिल्लो समय सक्रिय रहँदै आएकी उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भएकी थिइन् ।
भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को भोटबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । यस्तै जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ ।
राजनीतिक परिवारमा जन्मिएका भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी थिइन् । भुसालले नेपाली काँग्रेसको महिला र कानुन विभागका विभिन्न पदमा रहेर काम गरेकी थिइन् ।
वरिष्ठ अधिवक्ता समेत रहेकी भुसाल काँग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन् भने उनले काँग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय गरिसकेकी छन् । उनी नेपाल महिला संघको महासचिवका रुपमा पनि रहिसकेकी छन् ।