काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीबाट अपमानको विष पिएको बताएका छन्। ओलीले न्यूनतम मर्यादाको समेत ख्याल नगरी कुर्सी हटाउनेलगायतका कार्य गरेकाले प्रचण्डले अपमानको विष पिएको बताएका हुन्।
‘उहाँ (केपी शर्मा ओली)ले न्यूनतम मर्यादाको समेत ख्याल नगरी पार्टी अध्यक्ष प्रचण्डजीलाई कुर्सीबाट हटाउनुभयो। यस्तो अपमानको विषसमेत प्रचण्डजीले पिउनुभयो‚’ उनले भने। आफू प्रचण्डका ठाउँमा भएको भए त्यही कुर्सी प्रधानमन्त्री ओलीको नजिक लगेर ओलीकै कुर्सी हटाउने बताउँदै नेता नेपाललले भने‚ ‘म भएको भए त्यो कुर्सीलाई ओलीको नजिक लगेर उनकै कुर्सी सार्ने थिएँ।’
मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकमा उनले दुई पूर्वपार्टी विघटन भइसकेको बताए। ‘दुई पूर्वपार्टी विघटन भइसकेको छ। नेकपामा मेरो हस्ताक्षर चल्छ र मेरैमात्र कामले वैधता पाउँछ भन्ने भ्रममा नपरौँ,’ उनले भने।